Saturday, November 26, 2011

अनुभुतिः यसरी एउटा नेताको अवसान भयो

मिडियामा छापिने समाचार र अ–स्तरीय समिक्षाकै भरमा किताबहरु पढ्दा वेस्वाद लागेदेखि कुनै पनि किताब चर्चाकै भरमा पढिहाल्न उ मनगर्दैन । उसले कर्णाली ब्लुजलाई पनि यस्तै ठान्यो र शुरुमा बाल दिएन । कुनै किताब नपढ्दा ठुलै भुल हुन्छ भने होस् भन्दै उसले अरु पनि थुप्रै किताबलाई वेवास्ता गर्न थालेको थियो । तर एकदिन कर्णाली ब्लुज श्रीमतीमार्फत उसको नजरमा पर्यो । बिहान उठ्नेबित्तिकै चर्पी जाँदा किताब वा पत्रिका पढ्ने उसको पुरानो बानी हो । “तिम्रो त बिद्यानास हुने भो,” हातमा किताब वा पत्रिका बोकेर चर्पी छिर्नैलागेको बेला हरेकपटक यसो भन्ने श्रीमती पनि अब आजित थिइन् । “चिया सेलाएर हिँउ भयो, कता हराएको?” अर्धाङ्गीनीको परिचित आवाजले झस्कियो त्यसदिन उ । हातमा भएको कर्णाली ब्लुजको पाना नंम्बर ५० मा चिनो लायो । “छोरो उठाउनु त कता कता, ट्वाइलेटमा पढेर दिमाग भ्रष्ट पार्न कति रहर लागेको?” अरुबेला भए एकदुई शब्द फर्काउथ्यो होला, तर आज एकशब्द नबोली आज्ञापालक झै एकसासमा चिया पियो । कर्णाली ब्लुजको असर ४५ मिनेटमै । वाह, क्या किताव रहेछ । बेडरुम छिरेको उ, छोरालाई उठाउनु त कता हो कता, एकाएक टोलाउन थाल्यो मानौ कर्णाली ब्लुजको जादुटुनाले उसको हंस अन्तै उडाइलग्यो । उ हरायो आफ्नो बाल्यकालका प्रीय र अप्रीय क्षणहरुमा, डुल्न थाल्यो त्यही बनपाखा, गर्न थाल्यो उकाली ओराली, कहिले गोठालो भएर त कहिले स्कुले भएर, लामो तुना झुन्ड्याउदै ठुलो कट्टु लगाएर, पाकेको लुतो कन्याउदैै, कहिले दाउरे त कहिले हली भएर । झलझली नाँच्न थाल्यो उसको त्यही स्थान जहाँ जन्मेर उसले पुर्वाद्धका १६ बर्ष बिताएको थियो । प्रीय अप्रीयमध्येपनि एउटा घटना संझेपछि उ जड भयो । केही

................................................................................................

“शेखर, ए शेखर ।” भुइतलाको बाहिरी कोठामा सुत्थ्यो उ । एकतलामाथि चढ्नु अघि आमाले भनेको सम्झ्यो, “प्रहरीहरु गाँउ छिरेकाछन् कसैले बोलायो भने नबोल्नु है,” । बाहिरबाट बोलाउनेहरु अहिले पनि रोकिएका थिएनन् । स्वर चिन्यो । ठुलाघरे मामाका माइला छोरा बिलासपतीले बोलाइरहेका थिए । “म माल्दाई, डराउनुपर्दैन ढोका खोल ।” सायद आमा र बुबाले पनि सुन्नुभयो क्यारे, टाड हल्लियो । भर्याङबाट ओर्लेको आवाज बिस्तारै नजिकै आयो । ढोका खोल्ने बित्तिकै सगैका अर्का मावली दाईले एकैसासमा भने, “असत्तीहरुले १८ जना प्रहरी गाउँ छिराएछन्, राती नै समात्न बेर लाउँनन्, भाञ्जालाई अहिले नै भगाउँ ।” परेन आपत । मध्यरात हुन लाग्या छ । जंगलछेउको अनकण्टार घर । छिमेककै घरपुग्न पनि मुलबाटो काट्नैपर्छ । कतै प्रहरीले बाटैमा पक्रियो भने? १५ बर्षे अल्लारे, निष्फिक्री ठिटो । शेखरले केही सोच्न सकेन । गला अबरुद्ध भयो । डरले थुरथुर काँप्दै आमा र बाको मुखमा हेर्यो मानौ वहाँहरुको काखमा लुटपुटिएर भएपनि उ प्रहरीको पञ्जामा पर्नेछैन ।

बेला ४९ साल असार महिना । प्रहरी भन्ने बित्तिकै गाउँका ठुलामान्छेपनि छुलुक्क हुनेबेला बबुरो शेखर, गरोस पनि के? केही नबोली पछ्यायो आमालाई । एकैछिनमा उनीहरु पुगे सानीआमा नाता पर्ने घरमा । शेखरले गम्लङ्ग खास्टोले मुख छोपेको थियो त्यो पनि आमाको । उसलाई कसैले देखिहाले पनि रातमा महिला नै ठान्नेछन् त्यसैले रातो बर्कोले आमाको गन्धमात्र दिएको थिएन आमाजस्तै गरी सुरक्षाको अनुुभुत गराएको थियो शेखरलाई । सानीमाकोमा बन्दोबस्त भयो उसको लुक्ने स्थान । आमा र सानीमा सल्लाह सुनेर थाहा पायो उ त्यहाँ त्योबेलासम्म लुक्नेछ जतीबेलासम्म प्रहरी गाउँबाट फर्किन्नन् ।

सानीमाको बुइगलमा तीनदिन तीनरात बस्दा शेखरले धरै कुरा सुन्यो तर अस्पष्टमात्रै । किन प्रहरी आए? प्रधानाध्यापक कमलालाई हातपात गरेकोमा तिमेरलाई पक्रन । अरु को को पर्याछन्? फलाना, ढिस्काना.... आदी आदी । कति जना? ९ जना, हैन ११ जना? कति बिद्यार्थी? अभिभावक पनि छन् की? गाउँका उरन्ठेउला अभिभावक भनाउदाहरुछन् जसले स्कुलमा राजनीति भित्र्याए, अनि तिमेरु ठेट्नाहरु जसले उनीहरुलाई राजनीति गर्न दिएर आफुलाई खाल्डामा हालेउ । कुन अभियोगमा पक्राउ गर्न प्रहरी आको? सार्वजनिक अपराध अन्तर्गत । कसुरचाँही एउटामात्र? हैन राजनीति पनि गरेउ रे तिमेरले । तीनदिन तीनरातको अवधिमा भेट्न आउँदा निन्याउरो मुख लाएर शेखरका प्रश्नको उत्तर दिदाँ बुबाले कतिपटक भक्कानीनुभयो । “आज त म पनि भाग्नु पर्यो । तेरै कारणले पहिलोपल्ट अपराधबोध हुदै भागे ।” यसो भन्दा बुबाको गला थामिएन । शेखरसँग अरु उपाय केही थिएन सुन्नुबाहेक । सोन्न थाल्यो, “स्कुलमा राजनीति मास्टरहरुले गरे, प्रअले नेतृत्व लिइन् । बिद्यार्थीको नाताले बिरोध गर्यौ । ४८ सालको चुनावमा मास्टरहरु खुलेआम भोटमाग्न हिडे । हाम्रो अर्धबार्षिक परिक्षा बिथोलियो । जबर्जस्ती परिक्षा लिन खोज्दा हामीले बिरोध गर्यौ । हामीलाई पार्टीको झण्डा ओडाइयो । बाहिरबाट मान्छे ल्याएर कुटाउने प्रयास भयो । यही कारण आज यो दिन आयो ।” तर बुबालाई शेखरले कहिल्यै केही भनेन । न त पछुतो नै महसुस गर्यो । गाउँकै स्कुल भएकोल शेखरलाई अरुले पनि पत्याए, उ पढाईमा अब्बल थियो, त्यसैले उ अग्रपक्तिमा आयो । मास्टरहरुको एउटा जमातले उसलाई बिरोधी देख्यो अर्कोले समर्थक । अनियन्त्रिण भिडले अनुशासन गुमायो । महिला प्रधानाध्यापकमाथि पुरुष बिद्यार्थीहरुले हातपात गरे । प्रअको रक्षमा उभिने शेखर लगायत अरुको केही लागेन । बिरोधी मास्टरलाई के चाहियो, रातारात भोजपुर सदरमुकाम पुगरे शेखर र उसका ११ जना सहयोगीलाई सार्वजनिक मुद्धा हाले । उनीहरु बसे सदरमुकाम, पठाए प्रहरीलाई पाता कस्न । गाउँमा मच्चियो हाहाकार । बन्द भयो स्कुल लगातार ।

................................................................................................

निम्नमाध्यमिक स्कुललाई माध्यमिक बनाउने । जनश्रमदान गर्ने । अनि नपुगेको सहयोग सरकारसँग माग्ने । सबै गाउँलेको एकमतले ९० हजार रुपैयाँ धरौटी राखेर पहिलोपल्ट गाउँमा ८ कक्षाको पढाई अनुमति प्राप्त भएपछि गाउँमा एक किसिमको खुशीयाली छाएको थियो । “त्यसो भए अब प्रअ को त?” सप्तरी जिल्लाबाट गएका शोभितलाल यादवको योग्यताले मावीको प्रअ हुन नदिएपछि नीमावीमा यादवको मातहतमा पढाउने शिक्षिका कमला तिमिल्सीनाको नाम विकल्पका रुपमा आयो । किनभने उनले बिएड गरेकी थिइन्, त्यो पनि अग्रेजीमा । राईकी छोरी बाहुनसँग बिहे गरेकी, अंग्रेजी पढेकी । प्रभावशाली व्यक्तित्व थियो उनको । सञ्चालक समितीले कमलालाई प्रअ नियुक्त गर्यो । निमावीका प्रअ यादव अब शिक्षकमात्र रहे । उनै कमला जसलाई हिजोसम्म उसले शासन गरेको थियो अब उनले शासन गर्ने दिन आए । कस्तो दुर्भाग्य, त्यही दिनदेखि गाउँ पस्यो राजनीति । स्कुलमा छिर्यो राजनीति । सञ्चालक समिती दुई भाग भयो । शिक्षकहरु बाँडिए । बिद्यार्थीहरुको भागबण्डा लाग्न थाल्यो । नेताहरु गाँउपसे । भर्खरै बहुदल आएकोले पञ्चे चोर गाउँ छोड भन्दै एकैस्वरमा उर्लिने गाउँलेहरु अब काग्रेस र कम्निष्ट भए । स्कुलका भित्ता, बासँका रुख, बाटोको वरीपरी जसले सक्छ एकअर्कालाई तुच्छ गाली गर्ने संस्कारले सिंगो गाउँलाई तहननहस पार्यो । गाउँ खण्डित भयो । स्कुलमा नेवीसँघ र अनेरास्ववीयु छिरे । सुरक्षाको लागि भन्दै चक्कु, भाला, साइकलको चेन, खुकुरीलाई स्कुलमा बिद्यार्थीले किताबको बिचमा राखेर कक्षाकोठामा भित्र्याए, जसले सक्छ जुनसुकै बेला प्रहार हुदाँ कक्षाकोठामै रगत बग्नु सामान्य हुनथाल्यो । आफ्नै गाउँको स्कुलको यस्तो चाला भएपनि, प्रभावशाली बिद्यार्थी शेखरलाई कसै न कसैले आफ्नो बनाएरै छोडे । अर्थात शेखर पनि राजनीतिज्ञ भयो । गाउँमा उसलाई कसैले मनपराएर, कसैले गालीकै भाषामा नेता भन्न थाले । बिडम्बना, प्रअलाई हातपात गर्ने समूहको बिरोध गर्दा गर्दै, उनीहरुको उच्छृङखल र हिंसात्मक व्यवहारबाट प्रअलाई बचाउँदा बचाउँदै पनि उसलाई राजनीतिज्ञ बनाइयो, जिल्ला प्रशासन कार्यालय भोजपुरमा शेखर सहित ११ जनालाई सार्वजनिक अपराधीको रुपमा मुद्धा चलाइयो । ३५ दिनसम्म प्रहरीको नजरबाट भाग्दै ३७औ दिनमा ४२ सय धरौटीबाट लालपुर्जा राखेर महिनावारी तारिखखेप्न बाध्य पार्यो शेखरलाई स्कुले राजनीतिले जसलाई न उसले बुझेको थियो, न कसैले बुझाउनै नै कोशीस गर्यो, जर्बजस्ती उ नेता बन्यो ।

................................................................................................

“परिक्षा आउन लाग्यो, पहिलोचोटी टेस्ट परिक्षामा भाग लिदैछ स्कुल, ६–६ महिनादेखि बन्द गरेर हुन्छ?” काठमाण्डौबाट गएका दुईचार अगुवा युवाहरुको कुरा सुन्ने मुडमा थिएन भुल्केको कांग्रेस र कम्निष्टको जमात । बिद्यार्थीलाई सार्वजनिक मुद्धा हालेदेखि प्रशासनको ढोकामा ताला लागेको थियो । प्रअ कमला हराएकी थिइन्, सुनिन्थ्यो ५ घण्टाको दुरीमा पिखुवापारी भोजपुरसदरमुकाममा बसेर उनी आफुले हुर्काएको बिरुवाको जरा उखेल्नेलाई मलजल गर्दैछन् । पहिलोपल्ट एसएलसीको टेस्टमा भाग लिने तयारीमा रहेका बिद्यार्थीहरु जो शेखरभन्दा एकबर्ष सिनियर थिए पढाईमा, ट्युशन लगायत अरु तरिकाले परिक्षाको तयारीमा थिए । कैयौ चरणमा भएका वार्ताहरुले पनि काम नगरको अबस्थामा काठमाण्डौबाट गएका दुईचार गाउँले ठिटाहरुले एकदूई प्रयास गरेर हुने केही थिएन । शेखर र उसका साथीहरु त निरन्तर पढाइको पक्षमा थिए । एउटा घटनालाई लिएर कसैको भविष्यमा खेल्नुहुन्न भन्ने कुरा उनीहरुलाई यो ६ महिनाको बीचमा स्पष्ट ज्ञान भैसको थियो । तर स्कुलको ताला उनीहरुको हातमा थिएन । ताला भएका शिक्षकहरु राजनीति गर्ने न परे । मास्टरीमात्र गर्नेले सकेसम्म खुल्ला चौरमा बसेर भएपनि १० कक्षाका बिद्यार्थीलाई एलएलसी दिन लायक बनाए ।
बन्द भएको ६ महिनापछि बल्ल बल्ल स्कुल खुल्यो तर प्रअ कमला कहिल्यै फर्किनन् । जिल्लामै बसेर तलब खाइरहिन् । शेखर र उसको समूहले मुद्धा खेपीरह्यो । हरेक महिना एकदिन जिल्ला प्रशासन कार्यालय गएर हाजिर गर्नैपर्ने । एकबर्षको लगातार तारिखपछि अब आइन्दा यस्तो गर्नेछैन भन्ने कागज लेखाएर सही गराएपनि एउटा बोझबाट मुक्ती पाएको आभाष शेखर र उसका साथीहरुले गरे ।

................................................................................................

शेखरको हातमा सेन्टअप टेष्ट परिक्षाको रजिष्ट्रेशन फारम छ । पहिलोपल्ट उसले आफ्नो नाम, जन्ममिती लगायत केही महत्वपुर्ण तथ्यांक सरकारको कानूनी प्रकृयामा समावेश गर्दैछ जसले शेखरको भविष्यमा पाइलापाइलामा अर्थ राख्छ । ̕तलाई त सरकारबादी मुद्धा परेको छ, अब तैले सरकारी जागीरको आस नगरेस्” शेखरलाई मन नपराउनेहरुमात्र हैन उसलाई माया गर्नेहरु पनि घुमाउरो पारामा व्यंग गर्थे, मानौ शेखर सदाका लागि देशको एउटा अपराधी हो, जसलाई सरकारले पनि जुनिभर अपराधीसरह व्यवहार गर्नेछ । “खुच्चिङ्ग, खुब जान्ने हुँ भन्थ्यो अब चाल पाउने हो, नागरिकता लिने बेलाँ पनि पुलीस रेकर्ड हेर्छ, जागीर खाँदा पनि, बिदेशै जानुपर्यो भने पनि प्रहरीको रेकर्ड चाहिन्छ । अब त्यसका दिन गए । उमेरै नपुगी गुण्डागर्दीमा ओर्लेथ्यो, थापायो ।” सार्वजनिक मुद्धा झेलेदेखिनै सुन्न थालेका यस्ता बचनबाणहरुले शेखरलाई कहिलेकाँही त पश्चातापको गहिराईमा नपुर्याएको पनि हैन । प्रहरीले खेद्दा पिलपिल आसुँ झार्दै सुक्सुकाउने बुबा, बर्कोले मुख छोपेर भक्कानीदै खाना ख्वाउने आमा, केही थाहा नपाएजस्तो गरी अन्यौलमै रहने भाईले मेरै कारणले भोगेको कठिनाई मलाई सराप त लाग्ने हैन? के मैले ठुलै अपराध गरे? म देशकै अपराधी भए? यस्ता कुरा सोच्दा सोच्दै शेखर कैयौ रात राम्ररी सुत्न सकेन । १६ बर्षकै उमेरमा कत्रो बज्रपात आइलाग्यो? कुराहरु मनमा बोकेर उसले कैयौदिनसम्म आफुलाई नियन्त्रण गरिरह्यो । सुनाओस पनि कस्लाई? हिजो साथ दिनेहरु नै अहिले दुर्गतीको कामनासहित ताली पिटिरहेका थिए ।

भनिन्छ, भगवान मान्छेले त्यतिबेला सम्झिन्छ जतिबेला उ आपतमा पर्छ । फारम बोकीरहेको हात त्यसै चल्मलाएजस्तो भयो । कानमा कसैले केही भनेजस्तो लाग्यो । कसैको आवाज कानै नजिक आएर ठोक्कियो । “मामा, तपाई नाम चेन्ज गर्नुस्, अहिलेसम्म तपाईको नाम शेखर छ, तर अब रजिष्ट्रेशन गर्दा अर्कै नाम राख्नु भयो त्यही नामबाट सम्पुर्ण काम गर्न सकिन्छ । त्यो नाम शेखर नभएपछि तपाईलाई भबिष्यमा कुनै अप्ठ्यारो पर्दैन । अहिले जे नाम राख्नुहुन्छ त्यही नामबाट नागरिकता पाइन्छ रे । जन्ममिती र नाम अहिले जे राखिन्छ त्यो नै सदाका लागि सरकारको रेकर्डमा जान्छ रे । त्यसैले नाम चेन्ज गर्नु मामा ।” एकाएक शेखरको वरीपरीबस्ने सबै साथीहरु चनाखा देखिए । मानौ यस्तो विकल्प सुझाउने शेखरकी फुपुकी नातिनी नभै भगवानको रुप हो । सदरमुकाममा लेखापढी गर्ने उनकै बुबाले सिकाएको कुरा शेखरलाई सुनाइरहेकी थिइन् । नभन्दै शेखरको वरीपरिका सबैले नाम परिवर्तनको सल्लाह मनपराए । नाम प्रस्तावको लहर चल्यो । जन्मेको ११ दिन लगाएर आगो साक्षि राखी पण्डितले जुराएको नाम एकैछिनमा फेरीने भयले शेखर झस्कियो पनि । तर उसको अगाडि भबिष्य थियो । गाउँघर तथा समाजमा राम्रो परिचय बनाएको शेखरको एकैछिनमा बिलय भएर त्यो ठाउँमा नयाँ नाम जुर्दै थियो । एकैछिनमा जुर्यो पनि । गाउँघर, साथीभाई, इष्टमित्र, आफन्त, बाउआमा सबैले चिनेको शेखर अब विनय भयो । शेखरको अवसान भयो । विनयको जन्म । धन्य राजनीति । शेखरलाई जबर्जस्ती नेता त बनाइस्, यही कारणले उसको अवसान भयो । पढाईमा तेज उसलाई ठुलै बज्रपात पर्ने गरी एसएलसीमा फेल गराईस् । राजनीति तँ महान् होस्, गर्न जान्नेलाई श्रीखण्ड, नजान्नेलाई शेखरको हाल ।

................................................................................................

यो सपनारुपी वास्तविक भोगाईको सदृष्य संझनाबाट बाहिर आँउदा ओछ्यानमा छोरो थिएन । काँटीमा झुन्ड्याएको स्कुटरको चावी थिएन । थियो त्यही कर्णाली ब्लुज र निद्राबाट ब्युझेजस्तै अवस्थाको विनय । जो १६ बर्ष अगाडिको त्यो घटनासझेर अहिले पनि बिक्षिप्त अबस्थामा थियो ।

5 comments:

Anonymous said...

Gajjab ko anubhuti ani gajjabko prastuti Binaya jee..

Sushil Pokharel said...

Really, really nice feeling!! go on !

Binaya Guragain said...

Thank you Sushil ji. Feedback dine anonymous, jo hunuhunchha, tapailai pani dhanyabad.

प्रकाश लामिछाने said...

Interesting anubhuti.....

Binaya Guragain said...

Thank you Prakash ji.